
काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाइएको कानुनी व्यवस्थालाई बेवास्ता गर्दै जुवा खेलाइँदै आएको सूचनापछि मोरङ प्रहरीले विराटनगरका दुई क्यासिनोमा एकैसाथ छापा मारेको छ। आइतबार मध्यरातमा गरिएको विशेष कारबाहीका क्रममा क्यासिनोका जिम्मेवार पदाधिकारीसहित २० जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालको निर्देशन तथा प्रत्यक्ष निगरानीमा खटिएको टोलीले विराटनगरस्थित बिग होटलभित्र सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्र रहेको ‘गोल्डेन क्यासिनो’ मा छापा मारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब ११ बजे सुरु गरिएको अपरेसनमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। यस्तै, रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी जम्मा २० जना नेपाली नागरिक नियन्त्रणमा परेका हुन्।
नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवा खेल्न निषेध गरिएको छ। तर, ती क्यासिनोहरूले सो व्यवस्था उल्लङ्घन गर्दै नेपालीलाई नियमित रूपमा प्रवेश गराएर ठूलो रकमको जुवा खेलाउँदै आएको विशेष सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक कटुवालले छापाका क्रममा क्यासिनोभित्र नेपाली नागरिक खुलेआम जुवा खेलिरहेको अवस्था फेला परेको बताए। उनले कानुन उल्लङ्घनमा संलग्न क्यासिनो व्यवस्थापन र जुवा खेल्ने सबैमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।


































