जोडिनुहोस
  • होमपेज
  • धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी

धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी

टीकापुर । बचत गर्नका लागि स्थापना भएको सहकारीले किसानका समस्या बुझेपछि बिजवृद्धिका क्षेत्रमा काम गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था स्थापना हुँदा बचत तथा ऋण लगानी गर्ने उद्देश्य राखेको थियो । सहकारीका शेयर सदस्य सबै किसान भएकाले उनीहरुलाई खेती उत्पादनमा सघाउनुपर्छ भनी सहकारीले पनि बिजवृद्धिको काम थाल्यो ।

सहकारीले धान, गहुँ र तोरीको बीउ उत्पादन गर्ने गरेको छ । सहकारीले वार्षिक ३०० टन बीउ उत्पादन गरेर बेच्दै आएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए । “सहकारीले शेयर सदस्यलाई बीउमा अनुदान दिने गरेको छ । किसानलाई बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ”, रामकृष्ण भन्छन्, “३१ जनाले रु १००÷१०० रकम जम्मा गरी सुरु गरेको सहकारीमा हाल एक हजार ५८ जना शेयर सदस्य छन् ।”

विसं २०६३ मा बचत सङ्कलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले २०७२ सालदेखि बीउ उत्पादन सुरु गरेको हो । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गरेपछि सहकारीले बीउ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

हाल सहकारी संस्थाको कार्यालय भवन र तीन भण्डारण गोदाम छन् । असी÷असी टनका तीन बीउ भण्डारण घर छन् । सहकारीले बीउ उत्पादनका लागि आवश्यक मेसिनलगायतका सहयोग सिँचाइ आयोजनाबाट पाएको छ । आयोजनालाई प्रशोधनका लागि आवश्यक मेसिनलगायतका सामग्री पाएपछि किसानलाई समेत सहज भएको, बीउ बाहिरबाट ल्याउँदा महँगो हुने गरेकोमा सहुलियत दरमै चाहेकै बेला गुणस्तरीय बीउ पाइरहेका चौधरी बताउछन् । “हाल सहकारीको कारोबार रु नौ करोडसम्म हुने गरेको छ”, उनले भने, “विगतमा नेपालगञ्ज, कञ्चनपुरलगायतका ठाउँबाट बीउ किनेर ल्याउने किसानलाई सहज भएको छ । सहकारीमा सहुलियत दरमा बीउ पाइन्छ । किसानकै उत्पादन बीउ हामीले भण्डारण गर्ने गरेका छाँै ।”

सहकारीले कृषिका धेरै क्रियाकलाप सञ्चालन गरिरहेको, धेरै किसान आबद्ध भएका रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल बताउछन् । “खेती नै मुख्य आधार हो, यसमा लगानी गर्ने सहकारीलाई हामीले पनि प्राथमिकता दिने गरेका छौँ”, उनले भने, “बिजवृद्धिमा लागेकाले सहकारीको स्तरोन्नतिमा सघाएका हौँ । सहकारीलाई चाहिने भण्डारण घर, गे्रडिङ मेसिन, धान, गहुँ काट्नका लागि प्रयोग हुने हार्वेस्टर मेसिनलगायत सबैखाले सहयोग भएको छ ।”

स्थानीय किसान सौरभ चौधरी सहकारी र सिँचाइ आयोजनाले किसानलाई खेती गर्न सहज बनाइदिएको बताउछन् । “विगतमा खेती गर्न कठिन हुन्थ्यो, खेती गर्न महिनौँ लाग्थ्यो”, उने भने, “सिँचाइ आयोजनाले खेत जोत्न पावर टिलर दियो, सहकारीले पनि एकै दिनमा दर्जनौँ बिघाको धान र गहुँबाली सहुलियत दरमा कटानी गरिदिन्छ । हामीलाई सहज भएको छ ।”

धेरै टिप्पणी गरिएका