देश
शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैनः प्रहरी उपरीक्षक कटवाल

विराटनगर। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै किसिमको सम्झौता नगरिने स्पष्ट गरेका छन्।
मोरङमा सरुवा भएर पुगेपछि आज विराटनगरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै एसपी कटवालले आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्दै अपराध नियन्त्रणमा कडाइका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनीले चोरी, डकैती, तस्करीलगायत आपराधिक गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्ने, गैह्रकानुनी कामकारवाही हुन नदिने तथा कानुन हातमा लिएर समाजलाई आतङ्कित गर्न खोज्नेहरूलाई कानुनको कठघरामा उभ्याइने चेतावनी दिए।
“विगतका घटनाबाट सिकेर नेपाल प्रहरी अघि बढ्छ, कानुन र जनताको पक्षमा अहोरात्र खटिन्छ,” एसपी कटवालले भने। उनले समाजका सबै क्षेत्र र सञ्चारकर्मीको सहयोग बिना सुरक्षाको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले साझा जिम्मेवारीस्वरूप सहकार्य गर्न पनि आग्रह गरे।




































