जोडिनुहोस
  • होमपेज
  • किन बढ्दैछ नेपालको बजारमा सुनको मूल्य दिनरात उकालो गतिमा ?

किन बढ्दैछ नेपालको बजारमा सुनको मूल्य दिनरात उकालो गतिमा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै सर्वसाधारणलाई चकित बनाइरहेको छ। दिनदिनै उकालो लागिरहेको मूल्य बुधबार पनि रोकिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार (९ पुस) मात्रै सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। छोटो अवधिमै भएको तीव्र मूल्यवृद्धिले बजारमा सुनको चर्चा अझ चर्किएको छ।

विश्वबजारमा कस्तो छ अवस्था ?

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। अमेरिका, युरोप, भारत र चीनजस्ता ठूला बजारमा सुन सुरक्षित लगानीका रूपमा आकर्षक बन्दै गएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता, युद्ध र भू–राजनीतिक तनाव, तथा ब्याजदरसम्बन्धी आशंकाले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा विश्वबजारमै मूल्य बढिरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिएको हो।

केही वर्षअघिसम्म नेपालमा सुन प्रतितोला एक लाख रुपैयाँ नपुग्ने अवस्थामा थियो। तर पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मूल्यवृद्धि, डलरको विनिमय दर, आयात लागत र माग–आपूर्तिको असरले सुनको मूल्य क्रमशः बढ्दै अहिले दुई लाख ६८ हजार नाघेको छ। सुनको मूल्य निरन्तर बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विवाह, चाडपर्व र पारिवारिक कार्यक्रमका लागि सुन खरिद गर्ने योजना बनाएकाहरू पछि हट्न बाध्य छन्। गहना व्यवसायमा समेत कारोबार घटेको व्यवसायीहरू बताउँछन्। अर्कोतर्फ, पहिले किनेका गहना भएकाहरूका लागि भने सुनको मूल्यवृद्धि फाइदाको विषय बनेको छ।

चाँदी पनि उकालोमै

सुनसँगै चाँदीको मूल्य पनि बढ्दो क्रममा छ। बुधबार चाँदी तोलामा १६५ रुपैयाँले बढेर चार हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।विशेषज्ञहरूका अनुसार विश्वबजारको अस्थिरता कायम रहेसम्म सुनचाँदीको मूल्य अझै केही समय उच्च नै रहने सम्भावना छ।

धेरै टिप्पणी गरिएका