
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले बयानका लागि बोलाउने तयारी गरेपछि तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक धर्मसंकटमा परेका छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले मंगलबार मात्रै नेता लेखकसँग बयान लिने निर्णय गर्दै पत्र पठाउने तयारी गरेको हो ।
आयोगको यो कदमसँगै नेता लेखक बयान दिन जाने वा नजाने भन्ने विषयमा अन्योलमा परेका छन् । यसबारे ठोस निर्णय लिन उनी राजनीतिक तथा कानुनी परामर्शमा जुटेका छन् । स्रोतका अनुसार, आयोगले बोलाउने अनौपचारिक जानकारी पाए पनि आफूले औपचारिक पत्र भने नपाएको प्रतिक्रिया लेखकले सञ्चारमाध्यमलाई दिएका छन् ।
यही अन्योलबीच भावी रणनीति तय गर्न नेता लेखक बुधबार पार्टी सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवास पुगेका छन् । उनले सभापति देउवासँग आयोगको पत्र, त्यसको कानुनी प्रभाव र आफ्नो उपस्थितिबारे गम्भीर छलफल गर्ने बुझिएको छ । यसैबीच तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लेखकलाई आयोगमा बयान नदिन सुझाव दिएका छन् ।




































