
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै फाइनलको पुरस्कार राशि घोषणा गरेको हो ।
यस्तै, उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबार हुने फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसी र पहिलोपटक फाइनल पुगेको पोखरा थन्डर्स भिड्ने छन् ।
ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । यस्तै, पोखराले दोस्रो क्वालिफायरमा धनगढीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।




































