
इजरायलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले युद्धको कठिन परिस्थितिमा त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गरेका छन्। ज्यानको जोखिम मोलेर पनि रोजगारी गरिरहेका नेपालीहरूलाई भेट्दा उनीहरूमा राहत र खुसी देखिएको छ । इजरायलमा वृद्ध, अपांगता भएका र बिरामीहरूको हेरचाह गर्ने केयरगिभरका रूपमा करिब पाँच हजारभन्दा बढी नेपाली कार्यरत छन्।

राजदूत पण्डितले इजरायलका विभिन्न क्षेत्रमा पुगेर विकास घिमिरे, श्रीकृष्ण श्रेष्ठ, रिता घले, अनु आले, सम्झना लिम्बु, गंगा कुँवर, प्रेमप्रसाद पौडेल, योगेन्द्र बहादुर खर्ती, दिपक भुजेल, संगिता भण्डारी, मेनुका राई, मिङमा डोल्मा तामाङ, तारा देवि आचार्य, रोसन विष्ट, प्रेम भट्टराई, श्रीमान राई, सरोज जोशी, उसा देवी गुरुङ, मिरा उप्रेती, सरिता मेचे, पुस्कर कार्की, अनिता लिम्बु, शर्मिला हाङसखम्बा, संगीता जिरेल, सुनिता कुमारी गुरुङ, उमा राई, सचिना राई, ओमकुमारी महतो, सर्मिला कुमारी वली, अबिना भट्टराई, तिर्थ कुमारी राई, रस्मी गुरुङ, पार्वती बुढा मगर, अनिता कुँवर, दिपना घले, चन्दा तिमिल्सिना, कविन्द्र लामिछाने, राजेन्द्र दाहाल, कमल राई, रेनु जिरेल, मन्जु बम्जन, अनिता योन्जा, माया केरुङ, पासाङ शेर्पा, गिता कुमारी थिङ, सिता भट्टराई सुवेदी, सुनिता मोक्तान र सुनिता रिचाललगायतका नेपालीहरूसँग प्रत्यक्ष भेट गरेका हुन्।

भेटका क्रममा राजदूत पण्डितले नेपालीहरूलाई इजरायल सरकारले तोकेको सुरक्षाका मापदण्ड पालना गर्न र आवश्यक परेमा सेल्टरमा सुरक्षित बस्न आग्रह गरेका छन्। उनले परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहनेका लागि खुला गरेको फाराम भर्न सुझाव पनि दिएका छन्। तर, हालसम्म तत्काल उद्धारका लागि खासै कसैले अनुरोध नगरेको जानकारी उनले दिएका छन्।
“अहिले युद्धविरामको अवस्था छ। स्थिति पहिलेको तुलनामा सहज हुँदैछ। यसअघि पनि सबै नेपालीहरू सुरक्षित थिए। यदि जोखिम बढेमा उद्धारका लागि दूतावास पूर्ण तयारीमा छ,” राजदूत पण्डितले बताए। इजरायली निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको दूतावासले त्यहाँका नेपालीहरूलाई सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न भनेको छ।

यता, पछिल्लो इजरायल–इरान तनावबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले समेत नेपालीहरूको अवस्थाबारे जानकारी लिन अन्तक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा सहभागी अधिकांश नेपालीहरूले तत्काल नेपाल फर्किने कुनै योजना नरहेको बताएका छन्। उनीहरूले अहिलेको अवस्था खतरापूर्ण भए पनि आफ्नो काममा लागिरहनुपर्ने बाध्यता रहेको बताएका छन्।
संकटकालीन अवस्थामा नेपाली राजदूतको सक्रियता र एनआरएनएको पहलले इजरायलमा रहेका नेपालीहरूलाई मनोबल बढेको देखिएको छ।





































