जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय युवा संघ नेपाल भोटेकोशी गाउँपालिकाद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल भोटेकोशी गाउँपालिकाद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल भोटेकोशी गाउँपालिकाको आयोजनामा वृक्षारोपण कार्यक्रम तथा संगठन सुदृढीकरणसम्बन्धी पहिलो बैठक आज उत्साहपूर्वक सम्पन्न भएको छ ।

दिनेश न्यौपाने, उर्गेन लामा र साङ्गे शेर्पाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा भोटेकोशीका स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रमले वातावरण संरक्षणसँगै युवा सशक्तीकरण र संगठन विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य छिरिङ शेर्पा रहनुभएको थियो ।

विशेष अतिथिका रूपमा युवा संघ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सुरज लामा, पालिका कमिटीका पदाधिकारीहरू तथा अनेरास्ववियु सिन्धुपाल्चोकका विभागीय प्रमुख निशान परियारको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अनेरास्ववियुका विभागीय प्रमुख निशान परियारले भने — “विकास सहरको कुर्सीमा बसेर सम्भव छैन । साँचो परिवर्तन त गाउँमै हुन्छ, जहाँ समस्या प्रत्यक्ष देखिन्छ । हामीले तलबाटै काम थाल्नुपर्छ — माथिबाटै सर्र आदेश पर्खेर बस्ने समय सकियो। अवसर यहीँ छ, चुनौतीसँगै। त्यसैले जन्मिएको ठाउँको समृद्धिका लागि युवाहरू, प्रतिनिधिहरू सबै मिलेर काम गर्न जरुरी छ ।”

त्यसपछि युवा नेता दिनेश न्यौपानेले भन्नुभयो — “गाउँ–समाज बनाउने भनेको हामीजस्तै युवाहरू हो । जब युवाहरू एकजुट हुन्छन्, तब समाज परिवर्तन हुन्छ, गाउँ परिवर्तन हुन्छ अनि विस्तारै देश नै परिवर्तन हुन्छ। त्यसैले हामी सक्रिय भएर अगाडि बढ्नुपर्छ ।”  जिल्ला अध्यक्ष सुरज लामाले पनि यस्ता कार्यक्रमहरू संगठन सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै भन्नुभयो — “वृक्षारोपणजस्ता अभियान हरेक पालिकामा निरन्तर चलिरहनुपर्छ। संगठनको काम त गाउँमै देखिनुपर्छ, माथिबाटै आदेश कुर्दा मात्र हुँदैन ।”

उहाँले जिल्लाभरिका युवा संघ पालिका कमिटीहरूलाई यस्ता अभियानमार्फत जनस्तरसँगको सम्बन्ध अझ बलियो बनाउने आह्वान गर्नुभयो । कार्यक्रममा अन्य पालिकाबाट आएका युवा नेताहरूको उपस्थिति रहेको थियो भने वृक्षारोपण अभियान सफलतापूर्वक सम्पन्न गरिएको आयोजक टोलीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका