
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन शुरु गरेका छन् । गएराति नेपाल आइपुगेका अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले मुलपानीमा रहेको तल्लो क्रिकेट मैदानमा राष्ट्रिय टोलीलाई प्रशिक्षण शुरु गरेका हुन् । यो प्रशिक्षणबाट आईसीसी टी–२० विश्वकप छनोट र आईसीसी विश्वकप लिग २ का लागि अन्तिम टोली तयार हुनेछ ।
त्यसअघि बिहान भएको पत्रकार सम्मेलनमा प्रशिक्षक स्टुअर्टले नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाउँदा उत्साहित रहेको बताउँदै उनले आफ्ना लागि नयाँ चुनौती भएको उल्लेख गरे । एसोसीएट राष्ट्र नेपालको प्रशिक्षकका लागि आवेदन दिनुपछाडिको कारण पनि युवा खेलाडीको प्रतिभा नै भएको उनले उल्लेख गरे ।
आफूले हार्न नजानेको बताउँँदै नेपालको मुख्य लक्ष्य भनेको फेरि पनि एकपटक नेपाललाई विश्वकपमा पुर्याउनु रहेको प्रतिबद्धता जनाए । उनले नेपालमा धेरै प्रतिभा, चाहना र जोश भएका खेलाडीहरू देखेको र यहाँको समर्थकहरूमा देखेको क्रिकेटप्रतिको लगावले पनि आफू प्रभावित भएको उल्लेख गरे ।
क्यानले स्टुअर्टलाई गएको चैत १५ मा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ५६ वर्षका स्टुअर्ट ल अबको दुई वर्ष नेपाली टोलीसँग रहने छन् । गएको जनवरीमा मोन्टी देशाईसँगको सम्झौता सकिएको थियो । अस्ट्रेलियाका स्टुअर्ट लले यसअघि श्रीलङ्का, बङ्गलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।





































