
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा आर्थिक वर्ष २०८१/८२ मा रु ७३ लाख १५ हजार ९२७ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।
कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार भक्तजनको आगमन वृद्धि भएसँगै भेटीको सङ्ख्या पनि बढेको हो। अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब रु १५ लाखले भेटी बढेको छ। २०८०/८१ मा रु ५८ लाख ४० हजार ५१० भेटी संकलन भएको थियो।
कोषका कार्यालय सचिव राम बानियाका अनुसार, २०८१/८२ मा नियमित भेटीबाट रु ४७ लाख १० हजार २९० र मेलापर्वमा रु २६ लाख पाँच हजार ६३७ संकलन भएको हो। भेटीसहित विभिन्न शिर्षकबाट कोषको कुल आम्दानी रु ९४ लाख १५ हजार १७ पुगेको छ।
यज्ञ दर्ताबाट रु ४ लाख ७३ हजार, यात्री निवास भाडाबाट रु ७ लाख १९ हजार, स्टल भाडाबाट रु ५ लाख ४६ हजार र सहयोगबाट रु ३ लाख ५९ हजार आम्दानी भएको जनाइएको छ। कोषले सञ्चालन गरेको धर्मशालामा १० हजार तीर्थयात्रीले सहुलियत दरमा आवास सेवा लिएका छन्।
मन्दिर आम्दानी कार्यालय व्यवस्थापन, पुजारी, भान्से तलब तथा संस्कृति विद्यालय सञ्चालनमा खर्च गरिएको छ। साथै, सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण र स्तनपान कक्ष निर्माणमा पनि कोषको सहयोग पुगेको छ।
कालीगण्डकी किनारमा नौ रोपनीमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर हिन्दू–बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो। मुक्तिनाथको प्रवेशद्वार मानिने यो मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रिमा विशेष मेला लाग्ने गर्दछ।




































