
काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना सदस्य एकाएक हराएपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
गोलन्जोर–६ छेत्पा नजिकको भण्डास बिप्पर कटेरीमा बस्दै आएका उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुली मा स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाइएको प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदी ले जानकारी दिए।
प्रहरी टोली हायुको घर पुग्दा सामान्य क्षति भएको देखिएको र घरपालुवा जनावरहरू – कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएको सुवेदीले बताए। “घरमा कोही पनि थिएन,” एसपी सुवेदीले भने, “अचानक १६ जना बेपत्ता हुनु सामान्य होइन। हामी गाउँले र स्थानीय जनप्रतिनिधिसँग थप जानकारी लिइरहेका छौं।”
बेपत्ता भएको कारणबारे अहिलेसम्म कुनै ठोस तथ्य नखुलेको प्रहरीले जनाएको छ। जंगलतिर गएको सम्भावना, सामूहिक विस्थापन वा अन्य कुनै विशेष कारण हुनसक्ने अनुमान गरिए पनि आधिकारिक पुष्टि भइसकेको छैन।
घटनापछि गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा र प्रहरीबीच परिवारबारे जानकारी संकलनको काम भइरहेको छ।
सम्पूर्ण परिवार हराउनु गम्भीर विषय भएकाले छिटो यथार्थ पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले नजिकको जंगल, खोला किनार, सामुदायिक भवनलगायत स्थानमा खोजी तीव्र पारेको छ।
सीसीटीभी फुटेज, मोबाइल ट्रेसिङ लगायतका प्रविधियुक्त माध्यमबाट पनि अनुसन्धान अघि बढाइएको जानकारी प्राप्त छ।
बेपत्ता परिवारको खोजी जारी छ भने स्थानीय बासिन्दा भय, शंका र चिन्तामा रहेका छन्।
प्रहरीले यथाशीघ्र वास्तविकता पत्ता लगाइने प्रतिबद्धता जनाएको छ।





































