
नवलपुर। देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम सुरु भएको छ । नेपाल सरकारसँगको सम्झौताअनुसार १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी गत असार ३० गतेदेखि काम अगाडि बढाइएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका सूचना अधिकारी द्रोण मानदेव कटुवालका अनुसार करसहित १० करोड ३५ लाखमा चितवनको बिबिएस जेभीले काम ठेक्का पाएको छ । हाल डन्डी झार्ने, जग खन्ने र फाउन्डेसन तयार गर्ने काम भइरहेको छ ।
झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रमा बन्ने ट्रमा सेन्टर १५ शय्या क्षमताको साढे दुई तल्ले भवन हुनेछ । भुइँतल्लामा उपचार कक्ष, पहिलो तल्लामा प्रशासन, सभाकक्ष र वार्ड तथा माथिल्लो तल्लामा कर्मचारी आवास रहनेछ । अस्पतालमा एक्स–रे, शल्यक्रिया कक्ष र प्रयोगशालाका लागि आवश्यक सुविधा समावेश गरिने छ ।
पूर्वपश्चिम राजमार्गसँगै बन्ने यस ट्रमा सेन्टरले नवलपुर तथा छिमेकी जिल्लाका दुर्घटनाग्रस्त बिरामीलाई राहत पुग्ने जनाइएको छ ।





































