
शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विधेयकलाई पारित गर्ने तयारी गरिएको छ ।
सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूची निर्धारण गर्न छलफल गरेका थिए । शुक्रबारको बैठकमा भूमीसम्बन्धी विधेयकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाकाअनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ । भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित सङ्घीय निजामती विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।
त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी तयारी गरिएको बर्तौलाले जानकारी दिए ।





































