जोडिनुहोस
  • होमपेज
  • बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिए ।

जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहेको शाहीले जानकारी दिए । ‘मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्’, उनले भने ।

प्रमुख शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो । बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्जले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन गरेको थियो । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका