जोडिनुहोस
  • होमपेज
  • वर्षाले मुस्ताङमा फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन घट्ने प्रक्षेपण

वर्षाले मुस्ताङमा फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन घट्ने प्रक्षेपण

मुस्ताङ। मुस्ताङमा भइरहेको वर्षाले फुल्न लागेको स्याउका बोटमा नकारात्मक असर पुर्याएको छ। यसका कारण यस वर्ष स्याउ उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ। जिल्लामा स्थानीय जातका स्याउका बोटमा यस वर्ष निकै कम फूल फुलेको थियो। वर्षा निरन्तर भइरहेकाले थोरै फुलेका फूलहरूमा पनि असर परेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए।

उनले भने, “गत वर्ष धेरै फूल फुलेकाले स्याउ उत्पादन पनि बढी भएको थियो। तर यस वर्ष बोटमा सञ्चित ऊर्जा कम भएकाले फूल पनि निकै कम फुलेको थियो। त्यसमाथि हावा र पानीले फुलेका फूललाई पनि असर गर्यो। स्याउ बोटमा धेरै फूल फुल्नका लागि पर्याप्त ऊर्जा चाहिन्छ। यदि एक वर्ष धेरै फल लाग्यो भने अर्को वर्ष फूल फुलाउन बोटले आवश्यक सञ्चित ऊर्जा प्राप्त गर्न सक्दैन।”

केन्द्र प्रमुख आत्रेयका अनुसार जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो थियो। गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा सात सय ३४ मेट्रिक टनले बढी हो।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचामा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउका बोटमा भने खासै असर नपुगेको उनले बताए। “हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाको अवलोकन गरेका थियौँ। त्यहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको पाइएन।” यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा खासै असर नपर्ने उनको भनाइ छ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसम पनि प्रतिकूल बनेको छ। स्याउको फूल फुल्दै गरेको अवस्थामा लगातारको वर्षा र कुहिरोले गर्दा फूलमा फल लाग्न बाधा पुगेको छ। अगौटे जातका फलफूलमा भने वर्षाले असर नगरेको तर ढिलो गरी फूल फुल्ने मध्यम जातका फलफूल खेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने उनले बताए।

यहाँ फरकफरक स्थानमा लगाइएको स्याउ बगैँचामा तापक्रममा आएको भिन्नताका कारण कुनै ठाउँमा ढिलो फूल फुलेको छ भने कुनै ठाउँमा फूल फुलेर फल लागिसकेको छ। फूल लागेको स्याउ बोटमा वर्षाले खासै असर नगर्ने केन्द्रले जनाएको छ।

थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले यस वर्ष यहाँका स्याउ बगैँचामा एकदमै कम फूल फुलेकाले उत्पादन घट्ने देखिएको जानकारी दिए। उनले भने, “स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउ खेतीमा भने खासै असर पर्दैन।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics