जोडिनुहोस
  • होमपेज
  • बैतडीको मेलौलीमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु हुने

बैतडीको मेलौलीमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु हुने

बैतडी । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट रोकिएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालका अनुसार अनलाइन प्रणालीमा गएपछि दुई वर्षदेखि अवरुद्ध सेवा सफ्टवेयर खरिद प्रक्रिया अघि बढेसँगै पुनः सुरु हुन लागेको हो।

बडालले जानकारी दिए अनुसार, स्वास्थ्य बिमा सेवा सुचारु गर्न आवश्यक सफ्टवेयर खरिदका लागि मेलौली नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरिसकेको छ। सफ्टवेयर खरिदलगत्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पहिलो सेवा बिन्दु तोकेर सेवा प्रदान गरिनेछ।

यसअघि मेलौली क्षेत्रका नागरिकले स्वास्थ्य बिमा सेवा लिन पाटन प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यता थियो। स्वास्थ्य बिमा नियमानुसार, बिमितले पहिलो सेवा बिन्दुबाटै आधारभूत उपचार सेवा प्राप्त गर्नुपर्ने हुन्छ र थप उपचारका लागि रेफर पनि सोही बिन्दुबाट हुनुपर्ने प्रावधान छ।

बैतडी जिल्लामा हालसम्म २९ हजार ८३ परिवारका ५२ हजार सदस्य स्वास्थ्य बिमामा आबद्ध भइसकेको तथ्याङ्क छ। स्वास्थ्य बिमामा आबद्ध सदस्यहरूले वार्षिक रु एक लाखसम्मको उपचार निःशुल्क पाउने व्यवस्था रहेको छ।

धेरै टिप्पणी गरिएका