
विराटनगर–८ स्थित छठीमाई मन्दिर प्राङ्गणमा मङ्गलबार साँझ छठ पूजा समितिद्वारा आयोजित भव्य सांस्कृतिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। छठ पर्वको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरूले छठीमाताको स्तुति, भक्ति गीत र लोकनृत्यका आकर्षक प्रस्तुति दिए, जसले उपस्थित भक्तजनहरूलाई मन्त्रमुग्ध बनायो। मन्दिर परिसर रंगीन बत्ती र सजावटले झलमलिएको थियो भने महिलाहरू परम्परागत पहिरनमा छठीमाताको आराधनामा तल्लीन देखिन्थे।

विशिष्ट अतिथि गिरिले छठ पर्वले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई अझ मजबुत बनाउने बताउँदै परम्परागत संस्कृतिको जगेर्ना गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनका अनुसार, छठ जस्तो पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँछ र सामूहिक सद्भावको सन्देश फैलाउँछ।
कार्यक्रममा स्थानिय, समाजसेवी, युवा र महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। छठ पूजा समितिका पदाधिकारीहरूले भक्तजनप्रति आभार व्यक्त गर्दै आगामी वर्ष झन् आकर्षक कार्यक्रम गर्ने प्रतिबद्धता जनाए। छठ पर्वको अवसरमा मन्दिर परिसरमा मंगलध्वनि, दीपप्रज्वलन र भक्तिभावपूर्ण वातावरणले विराटनगर साँझभर उज्यालो र उल्लासमय बनेको थियो।






































