जोडिनुहोस
  • होमपेज
  • म्यानमारमा भूकम्पपछि पनि सैन्य सरकारको हवाई आक्रमण रोकिएन

म्यानमारमा भूकम्पपछि पनि सैन्य सरकारको हवाई आक्रमण रोकिएन

म्यानमारमा शक्तिशाली भूकम्प गएर जनजीवन तहसनहस भएको बेलामा पनि सैन्य सरकारले हवाई आक्रमण जारी राखेको छ । भूकम्प गएको तीन घण्टा नपुग्दै सेनाले गरेको हवाई आक्रमणमा सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

सेनाले अहिले पनि आक्रमण रोकेको छैन । भूकम्पको केन्द्र सागाइङ्गको चाङ्ग–यू टाउनशिपसहित अरू ठाउँमा सेनाले आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ ।

सन् २०२१ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्ताले चार वर्षदेखि चलिरहेको गृहयुद्धका कारण देशको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ । त्यहाँ विद्रोही समूह र भ्रष्टाचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन् ।

यसैबीच भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ जना पुगेको छ । तीन हजार चार सय आठ जना घाइते भएका छन् । एक सय ३९ जना बेपत्ता रहेका जानकारी दिइएको छ ।

अहिले पनि स्थानीय बासिन्दाले हातैले भग्नावशेष पन्छाएर मानिस खोज्ने प्रयास गरिरहेका छन् । अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवम् पुलका कारण खोजी कार्यमा असर परिरहेको छ ।

बीबीसीसँगको कुराकानीमा एक उद्धारकर्मीले भनेका छन्– ‘उद्धार कार्यमा कुनै समन्वय छैन, नेतृत्व गर्न कोही छैन अथवा के कसरी गर्ने भन्नलाई कोही छैन । स्थानीय बासिन्दाले आफ्ना लागि आफैँ गर्नुपरेको छ । शव भेटिहाले पनि कहाँ पठाउने भन्ने टुङ्गो छैन । अस्पतालमाथि चाप छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका