जोडिनुहोस
  • होमपेज
  • सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

सिमकोट (हुम्ला)। हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन्। गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आएपछि सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्।

एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी र विभिन्न पेशा व्यवसायमा संलग्नहरूलाई सञ्चारमा समस्या भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताए। मोबाइलमा नेटवर्क देखाए पनि फोन नलाग्ने र सन्देश नजाने जस्ता समस्या देखिएको उनको भनाइ छ। खोप लगाउने लगायत स्वास्थ्यका गतिविधि बढिरहेको बेला टेलिफोन नहुँदा स्वास्थ्यकर्मीसँग जानकारी लिन कठिनाइ भएको बुढाथोकीले गुनासो गरे। जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको उनले बताए।

इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ र स्वास्थ्य संस्थामा नपुगेकाले फोनबाट छिटो जानकारी लिनुपर्ने अवस्थामा समस्या भएको उनले बताए। टेलिफोन सेवा अवरुद्ध भएको बारेमा जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको बुढाथोकीको गुनासो छ।

पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए। महिना दिनदेखि फोन नचलेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद भएको र सरकारी काम पनि प्रभावित भएको उनको भनाइ छ। स्थानीयले टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका र दूरसञ्चार कार्यालय लगायत सम्बन्धित निकायले चासो नदिएको गुनासो गरेका छन्।

दूरसञ्चार कार्यालय सिमकोटका निमित्त प्रमुख रञ्जीन लामाले सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको जानकारी मङ्गलबार मात्रै आएको बताए। सेवाग्राहीले भने जस्तो एक महिना नभई केही समयअघि मात्रै टावरमा खराबी आएको हुन सक्ने उनको भनाइ छ। सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयको प्रणालीबाटै आउने जाने गरेको जानकारी प्राप्त भएको उनले बताए। तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्ने उनले बताए। सोलार सञ्चिति नपुगेकाले पनि सेवा अवरुद्ध भएको हुन सक्ने उनको भनाइ छ। केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको र समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उनले बताए।

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक र अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा रहेका छन्। फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाज र सूचना सम्प्रेषणमा समस्या भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका