जोडिनुहोस
  • होमपेज
  • गाजामा मृतक संख्या ६३ हजार नाघ्यो, १० लाख विस्थापनको जोखिममा

गाजामा मृतक संख्या ६३ हजार नाघ्यो, १० लाख विस्थापनको जोखिममा

गाजामा २०२३ देखि सुरु भएको युद्धयता ६३ हजारभन्दा बढी प्यालेस्टीनीहरूको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा मारिएका प्यालेस्टीनीहरूको संख्या ६३ हजार नाघेको छ ।

शुक्रबार पनि कम्तीमा ५९ जनाको ज्यान गएको र २४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै पीडितहरू अझै भग्नावशेषमा फसेका छन् । तर लगातारको बमबारी र स्रोतको अभावका कारण उद्धार कार्य अवरुद्ध भएको छ ।’

युद्ध सुरु भएदेखि हालसम्म ६३ हजार २५ जना मारिएका र १ लाख ५९ हजार ४९० जना घाइते भएको मन्त्रालयले जनाएको छ । मार्च १८ यता मात्र ११ हजार १७८ जनाको ज्यान गएको र ४७ हजार ४४९ जना घाइते भएका छन् ।

खाद्य संकटका कारण पछिल्लो २४ घण्टामा दुई बालबालकसहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भोकमरी र कुपोषणका कारण ज्यान गुमाउनेहरूको संख्या ३२२ पुगेको छ, जसमा १२१ बालबालक रहेका छन् ।

यसैबीच, गाजाको नागरिक सुरक्षा विभागका अनुसार शुक्रबार मात्रै विभिन्न स्थानमा भएको आक्रमणमा कम्तीमा ४८ जना मारिएका छन् । प्रवक्ता महमुद बसलका अनुसार, दक्षिणी खान युनिसमा विस्थापितहरूको टेन्ट शिविरमा भएको गोलाबारीमा १८ जनाको ज्यान गएको छ ।

उत्तरी गाजामा जाबालिया अल–नजला क्षेत्रमा घरमाथि भएको हवाई आक्रमणमा पाँच जना मारिएका भने जेतुन, शेख रादवानलगायतका क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा एक बालबालकसहित छ जनाको मृत्यु भएको छ । राहत वितरण केन्द्र नजिकै पनि छ जनालाई गोली हानी मारिएको बसलले बताए ।

यसैबीच, इजरायली सेनाले गाजा सिटीमा “प्रारम्भिक चरणको सैन्य आक्रमण” सुरु भएको पुष्टि गर्दै हमासलाई पूर्ण रूपमा सैन्य र प्रशासनिक रूपमा समाप्त गर्ने प्रतिज्ञा गरेको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले गाजा सिटीलाई युद्ध क्षेत्र घोषित गरिँदा करिब १० लाख मानिस जबरजस्ती विस्थापित हुने जोखिममा पर्ने चेतावनी दिएको छ ।

अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको अभूतपूर्व आक्रमणमा करिब १,२०० जना मारिएका र २५१ जना अपहरणमा परेका थिए । त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots