देश
क्रियाशील सदस्यता टुंगिन नसक्दा कांग्रेसको महाधिवेशनमा ढिलाइ हुन्छ :पूर्वउपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समय अर्थात् आगामी मंसिरमै सम्पन्न हुन नसक्ने स्पष्ट भएको छ। क्रियाशील सदस्यता नवीकरण र वितरणमा ढिलाइ, आन्तरिक विवाद तथा विधानमै रहेको म्याद थप्ने प्रावधान मुख्य कारण बनेका छन्।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिरमा समाप्त हुँदैछ। तर, क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी रहँदा वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रीय तहसम्मको अधिवेशन सम्भव नभएकाले महाधिवेशन सर्ने निश्चित भएको हो।
पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार, कांग्रेसको महाधिवेशन नियमित चार वर्षमै हुन नसक्ने परम्परा विगतदेखि नै छ। “कहिले राजनीतिक संकट, कहिले निर्वाचन, कहिले महामारीजस्ता कारणले महाधिवेशन सारिँदै आएको छ। यसपटक क्रियाशील सदस्यता नटुंगिनु मुख्य बाधा बनेको हो,” उनले स्पष्ट पारे।
विधानअनुसार कार्यसमितिको म्याद एक वर्ष थप्न सकिने भएकाले अब केन्द्रीय समितिले बैठकमार्फत निर्णय गरेर २०८३ मंसिरसम्म महाधिवेशन गर्ने तयारी गर्ने भएको छ।
कांग्रेसभित्र आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउन चुनावी प्रक्रिया लम्बिने, विवाद समाधानमा समय लाग्ने र शक्ति केन्द्रहरू धेरै बन्ने जस्ता कारणले पनि महाधिवेशन ढिलो हुने गरेको नेताहरूको भनाइ छ। यसलाई सुधार्न “प्रेसिडेन्सियल सिस्टम” जस्तै पुरानो अभ्यासमा फर्कने वा हरेक वर्ष क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रविधि अवलम्बन गर्नेबारे बहस भइरहेको छ।
यद्यपि, १५औँ महाधिवेशनमा विधान संशोधन वा ठोस सुधार योजना ल्याउने तयारी औपचारिक रूपमा सुरु भइसकेको छैन।




































