जोडिनुहोस
  • होमपेज
  • माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु हुन्छ : सञ्चारमन्त्री

माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु हुन्छ : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन् ।

चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्‌बाट पारित भई कार्यान्वयनमा जाने उनले बताए । उनले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताए ।

उनले कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौँ उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताए ।

उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे । सात वटै प्रदेशमा आइटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न लागि समेत सरकार लागि परेको मन्त्री गुरुङको भनाइ छ । उनले भने,‘हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम ठाउँमा छौँ । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्ट लगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ । आइटीको अहिलेको विकसित रूप चाहीँ एआई हो । एआईको प्रयोगको लागि अब फाइभजीको नेटवर्क चाहियो अब हामीलाई । त्यसकारणले यही वर्षको माघभित्र काठमाडौँ भ्याली र पोखरा भ्यालीबाट सुरु परीक्षण सुरु गर्छौँ । त्यसले इन्टरनेटको प्रयोगलाई समेत सहयोग गर्ने र एआईको प्रयोगमा पनि सहयोग गर्ने विश्वास लिएका छौँ । यो वर्ष सुरु गरेर फाइभजीको काम गरेर अर्को वर्षसम्म सक्ने तयारीमा छौँ । हामी सात वटै प्रदेशमा आइटी डाटा सेन्टर र एआई केन्द्र विकास गर्ने तयारी गर्दैछौं ।’

बैंकिङ ठगीका मुद्दाहरू बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका