जोडिनुहोस
  • होमपेज
  • भारतद्वारा नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण हस्तान्तरण

भारतद्वारा नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण हस्तान्तरण

आगामी निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई उपलब्ध गराउने निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण मंगलबार काठमाडौँमा हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारका तर्फबाट प्रदान गरिएका सहयोग सामग्री नेपालका गृह मन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको हो।

काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत (चार्ज द’अफेयर्स) डा. राकेश पाण्डेले ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधनसहित अन्य सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। यी सामग्रीहरू नेपाल सरकारले आगामी निर्वाचनको तयारीका क्रममा भारतसँग माग गरेको सहयोगअन्तर्गत पर्दछन्।

कार्यक्रममा गृह मन्त्री अर्यालले सवारीसाधन तथा सहयोग सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाल–भारतबीचको सम्बन्ध गहिरो, व्यापक र विश्वासमा आधारित रहेको उल्लेख गरे।

नेपाल सरकारको अनुरोधअनुसार भारतले सन् २००८ यता नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ। यस अवधिमा भारतले निर्वाचन आयोगसहित विभिन्न मन्त्रालय र निकायका लागि करिब २ हजार ४ सय सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ।

आगामी निर्वाचनका लागि भारतले करिब ६५० वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। ती सवारीसाधनहरू आगामी केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने जनाइएको छ।

भारतको निरन्तर सहयोगले दुवै देशबीचको बहुआयामिक विकास साझेदारी मात्र होइन, नेपाल–भारतबीचको आपसी विश्वास, मित्रता र ऐतिहासिक सम्बन्धलाई पनि थप सुदृढ बनाएको बताइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका