जोडिनुहोस
  • होमपेज
  • एमालेबाट विष्ट प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङको विकासमा जोड

एमालेबाट विष्ट प्रतिनिधिसभा उम्मेदवार, मुस्ताङको विकासमा जोड

इन्द्रधारा विष्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी निर्वाचित भए मुस्ताङको विकासलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी दर्ता गर्दै विष्टले निर्वाचित भएपछि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासका लागि व्यापक योजना कार्यान्वयन गर्ने बताए। २०७४ सालमा मुस्ताङबाटै प्रदेशसभामा निर्वाचित भएका उनले त्यतिबेला पूरा गर्न नसकेका योजनाहरू अब प्रतिनिधिसभामा पुगेर सम्पन्न गर्ने संकल्पसमेत व्यक्त गरेका छन्।उनी उपल्लो मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउने पहिलो उम्मेदवार हुन्। यसअघि कागबेनीभन्दा तल्लो क्षेत्रबाट मात्र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने र निर्वाचित हुने परम्परा रहँदै आएको थियो। यसपटक पहिलोपटक तल्लो क्षेत्रको राजनीतिक सिन्डिकेट तोडिएको एमाले नेताहरूको दाबी छ।

मुस्ताङको माथिल्लो क्षेत्रमा विष्ट र गुरुङ समुदायको बाहुल्यता रहेको छ भने तल्लो क्षेत्रमा थकाली समुदायको बसोबास बढी छ। दुवै क्षेत्रमा दलित समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ। यस्तो सामाजिक बनावटका बीच विष्टले सबै समुदायलाई समेट्ने विकास एजेन्डा अघि सार्न सक्ने विश्वास गरिएको छ।
लामो समयसम्म मुस्ताङी राजाका प्रशासनिक सल्लाहकारका रूपमा काम गरेका विष्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिका अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए। झिनो मतान्तरले पराजित भएपछि उनी नेकपा एमालेमा प्रवेश गरेका हुन्।

त्यही वर्ष सम्पन्न प्रदेशसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका विष्ट २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार नम्डु गुरुङसँग पराजित भएका थिए। राजनीतिभन्दा बढी समाजसेवीका रूपमा चिनिने विष्ट गल्फ खेलका पारखीसमेत हुन्।

उनले विश्वकै सबैभन्दा अग्लो स्थानमा गल्फ कोर्स निर्माण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने अभियान चलाइरहेका छन्।
कोरोना महामारी, भूकम्पलगायत विभिन्न विपद्का समयमा सक्रिय रूपमा राहत तथा सेवा कार्यमा जुटेका विष्टले लोमान्थाङमा बिजुली भूमिगत गर्ने, कोरला नाका खोल्ने तथा लोमान्थाङ रिङरोड निर्माणका लागि निरन्तर पैरवी गर्दै आएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका