जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै

कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिँदै

कञ्चनपुर । कञ्चनपुरमा ‘जलवायुमैत्री कृषि गाउँ’ स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले जलवायुमैत्री कृषि गाउँ स्थापनाका लागि कृषि कार्यमा संलग्न किसान, समूह, फर्म तथा सहकारीसँग प्रस्ताव माग गरेको छ ।

जलवायु अनुकूलखेती प्रणालीको विकास गर्दै तरकारी र फलफूल खेतीमा आधुनिक, वातावरणमैत्री प्रविधि प्रयोग गरी किसानको उत्पादन र आय वृद्धि गर्ने उद्देश्य राखिएको छ । जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई न्यूनीकरण गर्दै वातावरण अनुकूल र दीगो कृषि पद्दतिको विकास गरिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषिप्रसार निर्देशक हरिप्रसाद पनेरुले बताए ।

उनका अनुसार जलवायु अनुकूल पद्धति अनुसार खेती प्रणालीको विकास गरी किसानको उत्पादन क्षमता, आयस्तर र आत्मनिर्भरता बढाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिँदै छ ।

निर्देशक पनेरुले भने, “जलवायु अनुकूलखेती प्रणाली विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो, एक पालिकाको एक टोलमा जैविक खेती पद्धति अपनाएका किसानको प्रस्ताव र कार्यक्रमको सोच मिलेमा त्यस्ता प्रस्ताव छनोट गरी कार्यक्रम सञ्चालन गर्छौंँ ।”

कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल खेतीमा केन्द्रित रहेर जलवायुमैत्री प्रविधिको प्रयोग गरिनेछ । तरकारी खेतीतर्फ जलवायुमैत्री पोलीहाउस निर्माण, थोपा सिँचाइ प्रविधि, मल्चिङ प्रविधि, गड्यौला मल उत्पादन, झोलमल प्रयोग, बजारीकरण तथा तरकारी खेतीसम्बन्धी अन्य सहायक क्रियाकलाप सञ्चालन गरिने छन् ।

यी प्रविधिले पानीको खपत घटाउनुका साथै उत्पादन लागत कम गर्ने र मौसमजन्य जोखिमबाट खेती जोगाउन सहयोग पुग्ने निर्देशक पनेरुको भनाइ छ । फलफूल खेतीअन्तर्गत थोपा सिँचाइ प्रणाली जडान, बगैँचा व्यवस्थापन, नयाँ बगैँचा स्थापना तथा उत्पादन वृद्धि गर्ने प्रविधि लागू गरिनेछन् ।

दीर्घकालीन रूपमा फलफूल खेतीलाई व्यावसायिक बनाउँदै किसानको स्थायी आम्दानी सुनिश्चित गर्ने निर्देशक पनेरुले जानकारी दिए । जलवायुमैत्री कृषि गाउँ स्थापना कार्यक्रम एउटै क्लष्टर वा एउटै क्षेत्रमा सञ्चालन गरिने प्रावधान राखिएको छ । यसले सामूहिक खेती, सामूहिक लगानी, प्रविधिको प्रभावकारी प्रयोग र सामूहिक बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

साथै किसानबिच सहकार्य बढ्दै स्थानीयस्तरमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यस वर्ष जलवायूमैत्री कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको निर्देशक पनेरुले जानकारी दिए ।

मापदण्ड पूरा भएका प्रस्तावलाई छनोट गरी कार्यक्रम सञ्चालन गरिनेछ । हाल प्रस्ताव सङ्कलनको कार्य अगाडि बढाइएको छ । कृषि विज्ञका अनुसार जलवायुमैत्री कृषि अभ्यासले वातावरण संरक्षणसँगै किसानलाई जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगाउने महत्वपूर्ण भूमिका खेल्छ ।

रासायनिक मल र विषादीको प्रयोग घट्दै जाँदा माटोको उर्वराशक्ति जोगिनुका साथै पानी र मानव स्वास्थ्यमासमेत सकारात्मक प्रभाव पर्ने बताइएको छ । आधुनिक प्रविधि, जैविक मल र वातावरणमैत्री अभ्यास अपनाउँदा उत्पादन बढ्नुका साथै बजारमा गुणस्तरीय उत्पादनको मागसमेत बढ्ने बताइएको छ ।

जलवायुमैत्री कृषि गाउँ स्थापना भएपछि कञ्चनपुरको कृषि क्षेत्र दीगो, व्यावसायिक र जलवायु अनुकूल बन्ने अपेक्षा गरिएको छ ।

एक ठाउमा गरिएको अभ्यासले अन्य क्षेत्रका किसानले त्यस पद्धतिलाई अपाउन प्रेरणा प्रदान गर्ने शुक्लाफाँटा कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए । जलवायुको असर प्रत्यक्ष रुपमा कृषि क्षेत्रमा पर्दै आएकाले वातावरण अनुकूलखेती गरिँदा किसान लाभान्वित हुने उनको भनाइ रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका