
भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले जारी गरेको सन्देशले नेपाल–भारतबीचको ऐतिहासिक, बहुआयामिक र रणनीतिक साझेदारीलाई पुनः पुष्टि गरेको छ। उनले दुई देशबीचको सम्बन्ध भौगोलिक निकटताभन्दा पनि साझा सभ्यता, सांस्कृतिक सामीप्यता र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको स्पष्ट पारेका छन् ।
राजदूत श्रीवास्तवले भारतको लोकतान्त्रिक यात्रा र विकास दर्शन प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ भन्ने मूल मन्त्रमा आधारित रहेको उल्लेख गर्दै यही सोच छिमेकी मुलुकहरूसँगको सहकार्यमा पनि प्रतिबिम्बित हुने बताए। ‘वसुधैव कुटुम्बकम्’ को अवधारणाअनुसार भारतले छिमेकी तथा साझेदार राष्ट्रहरूसँग अनुभव, स्रोत र क्षमताहरू साझा गर्दै आएको उनको भनाइ थियो।
नेपालसँगको सम्बन्धलाई भारतको ‘छिमेकी पहिलो नीति’को केन्द्रीय स्तम्भका रूपमा चित्रण गर्दै राजदूत श्रीवास्तवले दुवै देशबीच सहकार्य र साझेदारीको लामो इतिहास रहेको उल्लेख गरे। हालैका महिनाहरूमा नेतृत्व तहमा भएका संवाद र भेटघाटहरूले आपसी विश्वास र समझदारीलाई थप गहिरो बनाएको उनको भनाइ थियो।
नेपालको राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाप्रति भारतको समर्थन पुनः स्पष्ट गर्दै उनले सन् २०२६ मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएको निर्वाचनका लागि भारतले प्राविधिक तथा सामग्रीगत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए। यस अन्तर्गत करिब ६५० सवारीसाधन र अन्य आवश्यक सामग्री अनुदान सहयोगमार्फत उपलब्ध गराइँदैछ, जुन नेपालका लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको छ।
आर्थिक र व्यापारिक सम्बन्धतर्फ संकेत गर्दै राजदूत श्रीवास्तवले पारवहन सन्धिको प्रोटोकल संशोधन, रेलमार्ग कनेक्टिभिटी, भन्सार सहजीकरण तथा प्रि–अराइभल इन्फर्मेसन आदानप्रदानसम्बन्धी समझदारीले नेपाल–भारत व्यापारलाई नयाँ गति दिने विश्वास व्यक्त गरे। यी पहलहरूले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारमा समेत थप अवसर प्रदान गर्ने उनको भनाइ थियो।
ऊर्जा सहकार्यलाई द्विपक्षीय सम्बन्धको उदीयमान आयामका रूपमा उल्लेख गर्दै उनले नेपालबाट भारततर्फ विद्युत निर्यात प्रवर्द्धन गर्न उच्च क्षमताका प्रसारण लाइनसम्बन्धी संयुक्त उपक्रमहरू अघि बढाइएको जानकारी दिए। यसले दुवै देशका लागि ऊर्जा सुरक्षाका साथै आर्थिक लाभ सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
युवा, नवप्रवर्तन र क्षमता विकासलाई सम्बन्धको दीर्घकालीन आधारका रूपमा चित्रण गर्दै राजदूत श्रीवास्तवले ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ कार्यक्रमले दुवै देशका युवाबीच सहकार्य र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। यस कार्यक्रममार्फत नेपाली स्टार्टअपहरूले भारतको प्रविधि र लगानी इकोसिस्टमसँग जोडिन पाएको उनले उल्लेख गरेका छन्।
प्राकृतिक विपत्तिका बेला भारतले नेपाललाई ‘फर्स्ट रेस्पोन्डर’का रूपमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले बाढी र पहिरोपछि बेली ब्रिज, राहत सामग्री र पुनःस्थापना सहयोग उपलब्ध गराइएको जानकारी दिए। यसले दुई देशबीचको आपसी सहयोग र मानवीय संवेदनशीलतालाई उजागर गर्ने उनको भनाइ थियो।
सन्देशको अन्त्यमा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको भूमिकाको प्रशंसा गर्दै नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन उनीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। भारतको ७७औँ गणतन्त्र दिवसले लोकतन्त्र, साझेदारी र आपसी विश्वासका आधारमा अघि बढिरहेको नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको उनको निष्कर्ष थियो।






































