म्याग्दी– म्याग्दीमा भित्रने पर्यटकहरूलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलको बारेमा जानकारी गराउने उद्देश्यले बेनीमा आजदेखि पर्यटक सञ्चालन केन्द्र सञ्चालन भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा(८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको बताए । सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरूको बिक्री कक्षसहितको कोसेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए।
म्याग्दीका छवटा स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन् । स्थानीय तह र निजी क्षेत्रको समन्वयमा सूचना केन्द्रलाई दीर्घकालीन हिसाबले सञ्चालन गर्नुपर्ने जिसस प्रमुख थापाले बताए ।
सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए ।नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ ।