जोडिनुहोस
  • होमपेज
  • ‘हरियाली घर, हरियाली काठमाडौँ’ अभियान सम्पन्न

‘हरियाली घर, हरियाली काठमाडौँ’ अभियान सम्पन्न

काठमाडौं। गत जनवरी २५, २०२३ देखि सुरु भएको हरित घर, हरित काठमाडौँ वार्षिक अभियान बिहीबार सम्पन्न भएको छ । ग्लोबल पीस फाउण्डेसन नेपालको आयोजना र काठमाडौँ महानगरपालिका–१५ वडा कार्यालयको सहकार्यमा सञ्चालित उक्त आयोजनामा इन्गेज नेपाल र फ्रेड्रिकसवर्ग काठमाडौँ सिस्टर सीटीको सहकार्य रहेको थियो ।

नेपालमा पछिल्ला वर्षहरुमा वायू प्रदुषण, डढेलो तथा पर्यावरणीय ह्रास आएको पछिल्लो तथ्याङ्कले जनाएको छ । त्यसो प्रत्यक्ष असर काठमाडौँ जस्तो उपत्यकामा बढी पर्ने गरेको छ । हाल काठमाडौँ विश्वको सबै भन्दा धेरै प्रदुषित शहर मध्य एक हो । हाल हामी आकाशमा तुँवालो र वायु प्रदूषण प्रष्ट देख्न सक्छौँ । पर्यावरणविद्हरूले पनि वातावरणी प्रभावका कारण काठमाडौँ उपत्यकामा प्रदुषण निकै बढेको बताएका छन् । ग्लोबल पीस फाउण्डेशको हरित घर हरित काठमाडौँ अभियानले काठमाण्डौँ उपत्यकाको प्रदुशन न्युनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

काठमाडौँमा १० वर्षअघिको तुलनामा धूवाँधूलो फैलिनु तथा चैत महिनामा हावाहुरीसमेत नचल्दा वायुको वेग स्थिरजस्तै बनेको विज्ञको भनाइ छ । अहिले वायुको गुणस्तर हानिकारक अवस्थामा पुगेको, यस अवस्थालाई न्यूनिकरण गर्न प्रत्येक घरघरबाट सानो सानो प्रयत्नहरु गर्न सक्ने जस्तै घरबाट उत्पादन हुने फोहरमैलालाई कम्पोसमल बनाई व्यवस्थापन गर्ने र सोको प्रयोगको लागि कौसी खेती गर्न सक्ने, आकाशे पानी संकलन र पुनभरन गरी घरयासी काम र कौसी खेतीमा प्रयोग गर्न सक्ने जानकारी दिए । साथै घरघरमा फोहरको रुपमा निस्केका प्लाष्टिक र कपडाहरुलाई बाल्दा हानिकारक ग्यास उत्पादन भई वायु प्रदुषन हुने यस्ता प्लाष्टिकलाई पुन प्रयोग गर्न सक्ने भएको हुँदा यस तालिमको दौरानमा प्लाष्टिकलाई पुन प्रयोग गर्ने तरिका सहित सानासाना किरिङ्ग बनाउन सिकाइएको र पुन प्रयोग हुने स्यानिटरीप्याड बनाउन सिकाइएको जानकारी गराउदै यस कार्यक्रमले धेरै हदसम्म एक घरलाई हरित घर बनाउन टेवा पुग्ने विश्वास लिएको भर्र्नी हरित घर, हरित काठमाडौँ’ कार्यक्रम संयोजक सृजना सितिखुले बताइन् ।

विश्वमा नै प्रदुषित शहरको रुपमा बदनाम हुदै गएको काठमाडौँलाई मध्यनजर गरि ग्रीन होम्स्, ग्रीन काठमाडौँको अवधारण सहित यो अभियान सुरु गरिएको थियो । वातावरण असन्तुलन हुँदा प्रत्यक्ष असर शहरी इलाकामा बस्ने मानिसलाई हुने भएकोले काठमाडौँलाई नै कार्यक्षेत्रको रुपमा चुनिएको आयोजकले जनाएको छ ।

अत्याधिक जनसंख्या भएकोले पनि बेलैमा पूर्वतयारी गर्नुपर्ने भएकोले यो योजना प्रतिकार्यको लागि उपयुक्त भएको आयोजकको दाबी छ । राजधानी काठमाडौँ उपत्यकामा घरबाट निष्कने फोहोरमैला व्यवस्थापन हुन नसक्नाले मानिसको स्वास्थ्यमा समेत असर परिरहेको छ । साँस्कृतिक महत्व समेत बोकेको काठमाडौँका नदी तथा धाराहरुमा पछिल्ला वर्षहरुमा पानी आउनै छाडेका छन् । विशेषगरी नदीहरुमा पानीको साटो फोहोर बग्दा बालबालिकाहरु फोहोर पानीमा नै खेल्न बाध्य छन् भने धार्मिक महत्व बोकेका पर्वहरुमा फोहोर पानीलाई जलको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता काठमाडौँवासीलाई रहेको छ ।

हरित घर हरित काठमाडौँ अभियान अन्तरगत ग्लोबल पीस फाउण्डेशन नेपालले स्थानीय स्तरमा विभिन्न क्रियाकलाप गरेर वातावरणीय प्रदुषण न्युनिकरणका प्रयास हरु गरेको छ । काठमाडौँ महानगरपालिका १५ का वडाका अध्यक्ष लगायत जनप्रतिनिधि र स्थानीयको प्रत्यक्ष सहभागितामा जीपीएफ नेपाल, इन्गेज नेपाल र फ्रेड्रिकसवर्ग काठमाडौँ सिस्टर सीटीले हातेमालो गरेका थिए ।

कार्यक्रमलाई काठमाडौँ महानगरपालिका १५ सँग सहकार्य गर्न पाउँदा हर्षित भएको भन्दै ग्लोबल पीस फाउण्डेशनका कार्यकारी सदस्य त्रिविक्रम पाण्डेले खुशी व्यक्त गरे । साथै उनले आगामी वर्षहरुमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिन वडाले पहल गर्ने विश्वास व्यक्त गरे ।

अभियानमा काठमाडौँको वातावरणीय प्रदुषण न्युनिकरणमा साझेदार संस्थाहरुको सहरुले पनि कार्यक्रमलाई निकै महत्व दिएका छन् । सुन्दर शहरमा फैलिएको धुलो, धुवा र प्रदुषणलाई न्युनिकरण गर्न आफुहरु सधै सहकार्य गर्न तयार रहेको साझेदार संस्था काठमाडौँ फ्रेडेरिकसवर्ग सिस्टर सिटीका अध्यक्ष नवीन विक्रम महर्जनले बताए । अझै काठमाडौँ महानगरपालिकाका अन्य वडाहरुमा पनि यस्ता कामहरुलाई महत्व दिन आग्रह गर्दै सहकार्य गर्न पाउदा खुशी भएको अध्यक्ष महर्जनले बताए ।

अभियान अन्तर्गत सुरुमा दुईदिने तालिममा स्थानीय सहभागीलाई कम्पोष्टवीन समेत वितरण गरिएको थियो । सहभागीहरुलाई बेलाबेलामा हौसला प्रदान गर्न र सामग्री रिकभरीका लागि कार्यक्रम प्रतिधिनिहरुले बेलाबेलामा होम भिजिट तथा कम्पोष्ट मनिटरिङसमेत गर्ने गरिएको थियो ।

त्यस्तै, अभियान अन्तर्गत वर्षाको पानी संकलन र रिचार्ज गर्ने तथा त्यसको प्रयोगको विषयमा समेत तालिमको आयोजना गरिएको थियो । ४ महिनासम्म चलाइएको तालिममा प्रदूषण न्यूनीकरण तथा खानेपानी, सरसफाई सम्बन्धी तालिम दिइएको थियो । त्यस्तै, महिलाहरुमा सीप विकास र जीविकोपार्जनका लागि समेत संस्थाले प्लाष्टिकबाट विभिन्न सामानहरु बनाउने, वातावरणमैत्री प्याड, झोल साबुन बनाउने तथा अर्गानिक च्याउ खेतीको विषयमा समेत तालिम दिइएको थियो ।

यस अभियानमा सहभागि काठमाडौँ महानगरपालिका १५ की शान्ति सिहले अभियान निकै फल दायी भएको र अभियानले स्वच्छ र मनोरम काठमाडौँको परिकल्पना गर्न टेवा पुर्याएको बताए । उनले यस अभियानले आफुहरुलाई उद्यमी समेत बनाएको उनको भनई छ ।

काठमाडौँ महानगरपालिका १५ का वडाअध्यक्ष इश्वरमान डंगोलले कार्यक्रमले स्थानीयमा सकारात्कम प्रभाव पारेको र आगामी वर्ष वडाको नीति तथा कार्यक्रममा समेत यो कार्यक्रम राखेर अघि लैजाने उनको भनाई छ । स्थानीयवासीको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने यस्तो कार्यक्रममले टोल तथा समुदायमा भाइचारको सम्बन्ध पनि स्थापीत हुने र वातावरणमा पनि सुधार आउने भएकाले यो निकै महत्वपूर्ण भएको वडाध्यक्ष डंगोलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका