विराटनगर– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।
सखुवासभाको मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्री पुष्ष कमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रुको स्विच थिच्दै जलविद्युत् आयोजनाको सुरुङ छिचोल्ने कार्यक्रम रहेको छ । ११ किमि लामो सुरुङको ब्रेक थ्रु हुन लागेको हो ।
चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । यहिनेर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ ।
विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् ।निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख गरिएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले सेयर पाउने परियोजना विकास सम्झौता (पीडीए) मा व्यवस्था गरिएको छ । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने पीडीएमा उल्लेख गरिएको छ ।
पीडीए अनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपियाँ स्थानीयलाई सेयर दिइने छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । चार सय केभी क्षमताको प्रसारण लाइन बन्ने छ ।