जोडिनुहोस
  • होमपेज
  • प्रेम सुवालको माग : कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्छ

प्रेम सुवालको माग : कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्छ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरूसँग अर्बौँ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको जस्ता विविध आरोप लागेकाले उनलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरूसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमिसनको पछि लागेको, विद्युत नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाई करोडौंको नोक्सानी पुर्याएको, ५५ करोडको शेयर ९ करोडमा खरिद गरी भ्रष्टाचार गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी घिसिङलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ,’ सांसद सुवालले भने  ।

यस्तै, उनले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता राष्ट्रिय परिचय पत्रको नाममा विलम्ब गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकहरूको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्यो तर स्थानीय तहको वडामा पुगेर राष्ट्रिय परिचय पत्रको विवरण भरेका ज्येष्ठ नागरिक र असक्तहरूको अनलाइनमार्फत दर्ता नभएको हुँदा पुनः जिल्ला प्रशासनमा धाउँदै आएका छन् । यसबारे जिम्मा पाएको ठेकेदारलाई काम पूरा नभई भुक्तानी गरिएको बारे छानबिन हुनुपर्यो र दोषीलाई कारबाही गर्नु जरुरी छ । राष्ट्रिय परिचय पत्रको निहुँमा सामाजिक सुरक्षा भत्ता वितरण विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ सांसद सुवालले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका