
काठमाडौं– काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक महिला र एक पुरुषको शव भेटिएको छ ।
काठमाडौं–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेको हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।
नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेको बताए । प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।