जोडिनुहोस
  • होमपेज
  • रामहरि खतिवडाको दाबी : निजामती विधेयकमा राजनीतिक दलको छायाँ पर्न दिँदैनौं

रामहरि खतिवडाको दाबी : निजामती विधेयकमा राजनीतिक दलको छायाँ पर्न दिँदैनौं

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको संविधान जारी भइसकेपछि सबैले चासो राखेको विधेयक निजामती सेवा विधेयक भएको उल्लेख गर्दै निजामती सेवालाई स्थायी सरकारको रूपमा लिनुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित निजामती सेवा विधेयकबारे छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले राजनीतिकर्मी पाँच वर्षको लागि मात्र निर्वाचित भएर आउने भएका कारण निजामती सेवालाई स्थायी सरकारका रूपमा लिनुपर्ने बताएका हुन् ।

‘अहिले एकदमै महत्वपूर्ण विधेयक समितिमा प्राप्त भएको छ । नेपालको संविधान निर्माण पछाडि सबैभन्दा महत्वपूर्ण र सबैले चासो राखेको विधेयक कुनै छ भने त्यो संघीय निजामती सेवा विधेयक हो । नेपालको स्थायी सरकारका रूपमा हामीले निजामती सेवालाई लिँदै आएका छौँ । राजनीतिकर्मीहरू पाँच वर्षका लागि निर्वाचित भएर आउने भएकाले पनि स्थायी सरकारका रूपमा निजामतीलाई लिएका छौँ,’ उनले भने ।

निजामती सेवा विधेयकलाई गोलमटोल गरेर हतारमा ल्याउने पक्षमा आफू नरहेको भन्दै उनले यस विधेयकलाई सबैको विधेयकका रूपमा स्थापित गर्ने दाबी गरे ।

‘हामी यस विधेयकलाई सबैको विधेयक बनाउन चाहन्छौं । यसलाई हतारमा गोलमटोल बनाउने पक्षमा छैनौँ । हामी राजनीतिका रूपमा विभिन्न पार्टीका रूपमा विभाजित भएर काम गरिरहेका हुन्छौं । तर, त्यो चुनावका दिन मात्र एक भएर गएका छौँ । तर, विकासका लागि निजामतीका रूपमा एक भएर जान सकियोस् भन्ने हाम्रो पक्षमा छौँ,’ उनले भने ।

आउँदो २ असारदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि छलफल अगाडि बढाउने खतिवडाले बताए । अहिले बोल्नेभन्दा पनि गर्ने बेला भएको भन्दै उनले समितिलाई कुनै पनि राजनीतिक दलको छायाँ पर्न नदिने उनको दाबी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका