![सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, केही घाइते](https://sagarmatha.tv/wp-content/uploads/2024/06/Accident2024-06-14-01-52-19_1000x555_50.webp)
सर्लाही– सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।