जोडिनुहोस
  • होमपेज
  • अशोक राई नेतृत्वको जसपाले बोलायो केन्द्रीय समितिको बैठक

अशोक राई नेतृत्वको जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बस्न गइरहेको छ । असार १२ र १३ गते काठमाडौँमा बस्ने केन्द्रीय समिति बैठकमा एकसय भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहने सो पार्टीका उपाध्यक्ष रेणु यादवले बताइन् ।

पार्टी दर्ता गराउँदा नै ३१ सदस्यीय केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । त्यो समेत गरी एक सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहने उपाध्यक्ष यादवले बताइन् । निर्वाचन आयोगले सनाखतका लागि समय सीमा तोकेपछि विभिन्न जिल्लाबाट जसपा नेपालका केन्द्रीय सदस्यहरू जसपामा आएको दाबी गरिएको छ । जसपाका महासचिव इस्तियाक राईले ५० वटाभन्दा बढी जिल्लामा तदर्थ समिति गठन भइसकेको र अन्य जिल्लामा पनि गठन हुने क्रम जारी रहेको जानकारी दिए ।

‘सर्वोच्च अदालतले सनाखतको कार्यक्रम नरोकेको भए अहिलेसम्म सबै जिल्लामा कमिटी बनिसकेको हुन्थ्यो,’ उनले भने, ‘यद्यपि यो अवस्थामा पनि कतिपय जिल्लामा तदर्थ समिति बनाउने काम भइरहेको छ ।’ कोशी र लुम्बिनी प्रदेशको लगभग सबै जिल्लामा समिति बनाइसकेको छ भने बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पनि केही जिल्लामा समिति बनेको जसपाले जनाएको छ ।

सनाखत रोकिएपछि त्यसको असर जसपालाई सबभन्दा बढी मधेस प्रदेशमा परेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि मधेस प्रदेशमै बलियो रहेको कारण नेता कार्यकर्ताहरू जसपातिर गइरहेको छैन ।

जसपा नेपालले पार्टीको महाधिवेशन पनि सम्पन्न गरिसकेको छ । महाधिवेशनबाट केन्द्रीय समिति बनाउन सकेको छैन । केन्द्रीय समिति बनाउने जिम्मेवारी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । केन्द्रीय समिति बनिसकेपछि त्यसबाट असन्तुष्ट भएकाहरूलाई पार्टीमा ल्याउने दाउमा जसपा देखिएको छ ।

जसपाले मधेस प्रदेशको पर्साबाहेक अन्य जिल्लामा संगठन बनाउन सकेको छैन । सनाखत रोकिएका कारण जसपा नेपालबाट कोही पनि जसपामा आउन चाहेका छैनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका