जोडिनुहोस
  • होमपेज
  • हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक

हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताए ।

“के संविधान छुनै नहुने विषय हो । संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन । संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ,” उनले भने । उनले संविधान आफैँले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे । संविधानलाई थप समृद्ध गर्ने कुरा गलत नहुने उनको भनाइ छ । उनले जनताको स्वामित्व स्थपना हुन नसके कमजोर हुने बताए ।

सहमतिका आधारमा संविधान संशोधन गर्न पहल कसैले लिनुपर्ने भएकाले आफूहरूले त्यसको नेतृत्व गरेको उनले बताए । लेखकले संविधान संशोधनको विषयमा अरूलाई निषेध नगरिने बताए । लेखकले समावेशिता, लोकतन्त्र समाप्त हुने भाष्य नबनाउन आग्रह गरे ।

“संविधान हामीले ल्याएको हो । संविधानको रक्षा हामी गर्छौं । हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन,” उनले भने ।उनले संविधानलाई चलायमान बनाउन निरन्तर समीक्षाको आवश्यकता पर्ने बताए । दुई पार्टी मिल्दैमा आत्तिनुनपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेमा मात्रै धुलो नदेख्न आग्रह गरे । उनले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेको जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका