जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • संविधान र संघीयतामाथि चुनौती थपियो : मुख्यमन्त्री जम्कट्टेल

संविधान र संघीयतामाथि चुनौती थपियो : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता र संविधान कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । उनले वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट नभएकाले संविधान र सङ्घीयता माथि थप चुनौती देखिएको टिप्पणी गरे ।

आइतबार १८ महिना अवधिको (आफ्नो कार्यकाल) प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेलले एमाले कांग्रेस गठबन्धन संविधान संशोधन र राजनीतिक स्थिरताका लागि मात्र नभएको बताए । एमाले कांग्रेस गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओली संविधानको मर्म र सङ्घीयताअनुसार प्रदेश सरकारहरूलाई अधिकार दिन नचाहने प्रवृत्ति रहेको उनको भनाई छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सङ्घीयता र प्रदेश सरकारको अधिकारको विषयमा बहस र छलफल नहुने उनले बताए । संविधान र संघीयता माथि प्रधानमन्त्री ओलीको हस्तक्षेप हुने उनले आशङ्का व्यक्त गरे ।

‘वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट छैन । यो गठबन्धन सरकार निर्माण, संविधान संशोधन र अस्थिरताको अन्त्यमा मात्र सीमित छैन । यो गठबन्धन किन बन्यो त्यसको मैले व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन । सङ्घीयता कता जान्छ, आशङ्का छ । राजनीतिक अस्थिरता पहिले पनि थियो । त्यतिबेला किन स्थिरताको विषयमा सोचिएन ?’ उनले प्रश्न गरे, ‘संविधान र सङ्घीयता कार्यान्वयनमा आशङ्का छ । सङ्घीयता कता जाँदैछ चिन्ताको विषय हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन । प्रदेशलाई सरकारको मान्यता दिइँदैन ।’

वर्तमान गठबन्धन सरकारका कारण सङ्घीयता, प्रदेश सरकार रहन्छ÷रहन्न भन्ने आशङ्का रहेको उनले बताए । ओली प्रधानमन्त्री भएपछि प्रदेश र स्थानीय सरकार नै भन्न नपाइने उनको भनाई छ । सरकारका कारण उत्पीडित वर्गको अधिकार सुनिश्चितता नहुने अवस्था निम्तिने उनले बताए । मुख्यमन्त्री जम्कट्टेलका अनुसार प्रधानमन्त्री ओली प्रदेश र स्थानीय सरकारलाई केन्द्रको अङ्गको रूपमा लिने गरेका छन् । संविधानको कार्यान्वयन गर्दै सङ्घीयता बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण हुन जरुरी रहेको उनले बताए । उक्त विषयमा यस सङ्घीयता र संविधानको पक्षधरहरू एकताबद्द हुनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलको जोड छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका