जोडिनुहोस
  • होमपेज
  • विद्यार्थीलाई ‘मन पराउँछु’ भनेपछि प्राध्यापकको हत्या

विद्यार्थीलाई ‘मन पराउँछु’ भनेपछि प्राध्यापकको हत्या

काठमाडौँ । काठमाडौँको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा प्राध्यापकको हत्यामा संलग्न खड्का १७ वर्षपछि पक्राउ परेका हुन् ।

काठमाडौँ–३२ स्थित कोटेश्वर घर भएका खड्का करिब १७ वर्ष भारतमा लुकेर बसे । खड्का भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बस्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको इन्स्पेक्टर नेतृत्वको टिमले उनलाई जल्पाइगुडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । फुपुको छोरा धादिङ गंगाजमुना गाएँपालिका–७ घर भएका विनोद थापाको आग्रहमा उनी प्राध्यापकको हत्यामा संलग्न भएका थिए । रञ्जन विनोदको मामाका छोरा हुन् । विनोदकी दिदी सबिता थापा अधिकारी भन्ने शोभिता थापा त्यतिबेला कमर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भनेर पटकपटक फोन गर्ने गरेको कुरा शोभिताले भाईलाई सेयर गरिन् । विनोदले आफ्नो टिम भेला गरे । शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन् ।

शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई रञ्जन, विनोद र भक्तपुरका राजिब पाण्डेले रड र इट्टा प्रहार गरे । कुटपिटबाट प्राध्यापकको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए । शोभिता २०८० चैतमा पक्राउ परेर धरौटीमा छुटेकी छन् । विनोद थापा जेल सजाय काटेर २०७९ असोज ३ मा रिहा भएका छन् । लागु औषध मुद्दामा झापामा पक्राउ परेपछि प्रहरीले उनलाई काठमाडौँमा ल्याएर हत्या मुद्दामा बयान गराएको थियो । ललितपुर जिल्ला अदालतले उनलाई २०७१ पुस ३० मा जन्मकैदको फैसला गरेको थियो ।

अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् । रञ्जको मुद्दा चाहिँ ललितपुर जिल्ला अदालतमा मुल्तवीमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका