जोडिनुहोस
  • होमपेज
  • सेप्टेम्बर- ११ आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग अमेरिकाको सम्झौता

सेप्टेम्बर- ११ आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग अमेरिकाको सम्झौता

अमेरिकाले ११ सेप्टेम्बर २००१ को आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग सम्झौता गरेको छ। मुख्य योजनाकार खालिद शेख मोहम्मद, वालिद मुहम्मद सलीह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–औसावीसँग अमेरिकाले मृत्युदण्ड नदिने सम्झौता गरेको बीबीसीले जनाएको छ। उनीहरू २३ वर्षदेखि क्युबाको ग्वान्टानामोस्थित अमेरिकी नौसेनाको यातनापूर्ण हिरासतमा छन्।

सन् २००१ मा न्यूयोर्कमा भएको अल कायदाको आक्रमणका उनीहरू योजनाकार रहेको अमेरिकी दाबी छ। उनीहरुलाई अमेरिकाले पाकिस्तानबाट गिरफ्तार गरेको हो । उक्त आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिलभेनियामा लगभग ३ हजार मानिसको मृत्यु भएको थियो।

त्यसपछि अमेरिकाले अफगानिस्तान र इराकमा आक्रमण गरेको थियो। यी तीन आरोपीले आक्रमणको आरोप स्वीकार नगर्दा अहिलेसम्म मुद्दा दर्ता भएको छैन। मृत्युदण्डको सजाय पाउने भएकाले उनीहरुले आरोप स्वीकार नगरेको बताउने गरिएको छ।

त्यसैले अमेरिकी अभियोजनकर्ताहरुले आरोप स्वीकार गरे मृत्युदण्ड नदिने सम्झौता गरेको समाचारमा जनाइएको छ। यो विषयमा अमेरिकामा लामो समयदेखि चलेको बहसमा पीडित पक्षहरुले उनीहररूविरुद्ध मृत्युदण्ड हुनुपर्ने माग गर्दै आएका छन्। आरोप स्वीकार नगरी मृत्युदण्ड नहुने प्रावधानले मुद्दा नै दर्ता हुन नसकेको हो । घटनाका मुख्य योजनाकार मानिने ओसामा बिन लादेनको भने अमेरिकी आक्रमणमा मृत्यु भइसकेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका