जोडिनुहोस
  • होमपेज
  • विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् ।

धनुषाको औरही गाउँपालिका ५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विदेह नगरपालिका ७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय औरही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, मकवानपुर, थाहा नगरपालिका ३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सितामड ९ बराह बस्ने ४५ वर्षीय सुदिर सिंह र सितामडी८ बराही चिन्तामन बस्ने ६८ वर्षीया रेनु देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ना।४ ख ४५६७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका १ भाबर बस्ने ३५ वर्षीय राम लामा र २८ वर्षीय बिक्रम गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १०१००१ ख ४३११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उता, इलाम, सुर्योदय नगरपालिका १० फिक्कल बजारस्थित कपडा पसल संचालन गरी बस्ने सोही नगरपालिका ९ रम्फोक घर भएकी २१ वर्षीया आनिशा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

र, इलाम, सुर्योदय नगरपालिका ८ छिपिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित माईजोगमाई गाउँपालिका २ शनिश्चरे बस्ने २५ वर्षीय समिर महतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै, पर्सा, वीरगंज महानगरपालिका(१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध ट्रोमा ५० लेखिएको ४ हजार ५ सय ४ ट्याबलेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी सकराहा ग्राम पंचायत ९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षीया मधु देवी रहेका छन् ।

प्रहरी चौकी इनरूवा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका