जोडिनुहोस
  • होमपेज
  • चितवनको धानबालीमा रोगको समस्या, किसान चिन्तित

चितवनको धानबालीमा रोगको समस्या, किसान चिन्तित

चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो ।

कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्त्व जिङ्क को कमी देखिएको छ । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए।

यसलाई रोक्नका लागि सेरामिन जिंक भन्ने खाद्यतत्त्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए ।

उनका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताए। यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उनले बताए। धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताए।

उनले भने, ‘एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।’

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्त्वको कमी र गवारो देखिएको छ । उनका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् ।

उनले भने, ‘पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।’

धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछी उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ हाइब्रिड लगाइएको स्थानमा भएको चौहानले जानकारी दिए।

जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका