जोडिनुहोस
  • होमपेज
  • सातामा २६ अङ्कले नेप्से घट्दा बैंकिङ समूहमा उछाल

सातामा २६ अङ्कले नेप्से घट्दा बैंकिङ समूहमा उछाल

काठमाडौं- भदौ महिनाको पहिलो साता अर्थात भदौ २ गतेदेखि ६ गतेसम्म शेयर बजार ३ दिन मात्र कारोबार भएको छ । सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले ३ दिन मात्र बजार खुल्ला हुँदा नेपाल स्टक एक्सचेञ्ज–नेप्से) भने २६.३५ अङ्कले घटेको छ ।

सातामा ३ दिन शेयर कारोबार हुँदा आइतबार नेप्से ३४ अङ्कले घटेको थियो भने बाँकी २ दिन झिनो अङ्कले बढेको थियो । यो साता नेप्से घट्ता बढी अङ्कले घट्ने र बढ्दा झिनो अङ्कले बढ्ने भएकाले २ दिन बजार बढ्दा पनि समग्रमा सातामा नेप्से घटेको देखियो ।

अघिल्लो साताको बिहीबार ३०००.८१ बिन्दुमा रहेको नेप्से २६ अङ्कले घटेर यो साताको बिहीबारसम्म आउँदा २९७४.४६ बिन्दुमा पुग्यो । प्रत्यक दिन नेप्सेले ३ हजारको बिन्दु पार गरेपनि ३ हजार माथि बजार भने रोकिन सकेन । त्यसले गर्दा पनि सातामा कारोबार भएको ३ नै दिन बजारमा निकै उतारचढाव देखियो ।

एकै दिनमा बजार घट्ने र बढ्ने क्रम बजार खुलेको ३ नै दिन कायम नै रह्यो । बजार बढेपछि घट्ने र घटेपछि बढ्ने बजारको सुन्दर पक्ष भएको नेपाल शेयरधनी संघका अन्यक्ष घनश्याम पाण्डे बताउँछन् । ‘एकै दिनमा बजार करेक्सन हुँदै माथि जाँदै गरेको देखिएको छ’, पाण्डेले भने, ‘त्यो नै बजारको सुन्दर पक्ष हो ।’

सातामा ३ दिन नेप्से कारोबार हुँदा समग्रमा दैनिक औषत ८.७८ अङ्कले बजार घट्यो । २ दिन बजार बढ्दा पनि समग्रमा बजार दैनिक ८ अङ्कले घट्यो । यो साताको घटाइ बजारको करेक्सन भए पनि समग्रमा भने बजार बढ्ने अध्यक्ष पाण्डेको भनाइ छ । ‘बजारमा करेक्सन आउनु सामान्य कुरा हो’, पाण्डेले भने, ‘तर, बजार अझै बढ्छ ।’

यो साता ३ दिनमा ६५ अर्ब ७६ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औषत २१ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भयो । शेयर बजारमा अझै संस्थागत लगानिकर्ता आइनसेकेकाले बजारमा कारोबार पनि अझै बढ्ने जनरल इन्भेष्टर एसोसिएसन अध्यक्ष दीपक कार्की बताउँछन् ।

साउनमा बैंकहरू कर्जा प्रवाहमा भन्दा पनि कर्जा रिकभरिमा लाग्ने भएकाले पनि शेयर कर्जा धेरै जारी नभएको कार्कीको भनाइ छ । ‘अब भदैबाट संस्थागत लगानिकर्ताले ऋण लिएर शेयर बजारमा प्रवेश गर्छन्’, कार्कीले भने, ‘त्यसपछि बजार र कारोबार दुवै बढ्छ ।’

३ दिनको अवधिमा १२ करोड ८४ लाख ४ हजार ७०० कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ४ करोड २८ लाख १ हजार ५६६ कित्ता शेयर कारोबार भयो । सातामा ७ लाख १६ हजार ७७२ पटक शेयर किनबेच हुँदा दैनिक औषत २ लाख ३८ हजार ९२४ पटक शेयर कारोबार भयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका