जोडिनुहोस
  • होमपेज
  • अहिलेको सरकार भातरोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

अहिलेको सरकार भातरोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता गतिविधि हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।

काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।

उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन ।” वर्तमान सरकार देश र जनताका पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उनले उल्लेख गरे । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन उनले निर्देशन दिए ।

“यो सरकार केवल अर्को सरकार होइन । यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ,” प्रधानमन्त्री ओलीले भने ।

प्रहरीमा बढुवा र सरुवाका निम्ति कुनै दौडधुप गर्नु नपर्ने उल्लेख गर्दै उनले भने, “झोलाथैला बोकेर कसैकामा कुद्नु पर्दैन । अहिलेको सरकार भातरोटी खान्छ, घुस खाँदैन । तपाईंहरू कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस् । अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।” प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर एक अर्ब २६ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौं २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका