जोडिनुहोस
  • होमपेज
  • धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’, एसियाको दोस्रो

धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’, एसियाको दोस्रो

काभ्रे। विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ। संगठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ शहर र एसियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गरे।

संगठनले तोकेका मापदण्ड पूरा गरी एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए। संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर स्वस्थ शहर घोषणा गरिएको जनाइएको छ।

नगरले आगामी दिनमा पनि सङ्गठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि शहरी स्वास्थ्य सुशासनमा काम गर्ने ब्याञ्जूले बताए।

‘यो घोषणाले सिङ्गो नगरवासी खुशी भएका छौँ, यससँगै अवसर र चुनौती पनि महसुस गरेका छौँ, उनले भने। नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य शहर’ अभियानमै छ। धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य ९एसडीजी० अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो। नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसंघमा पेश गरेको थियो। त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो।

नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्‍याउने कामसमेत सकेको जनाएको छ। धुलिखेल विश्व स्मार्ट दिगो शहर संगठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो। विश्वका १३६ देशका शहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दिगो शहर संगठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो।

धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत सन् २०२२ नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६०मा चर्चाको विषय बनेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका