नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेपाली कांग्रेसकी नेतृ एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बुधबार एकै जहाजमा धनगढी पुगेका छन् । प्रचण्ड माओवादीका सबैजसो पदाधीकारीसहित पार्टीको कार्यक्रममा धनगढी पुगेका हुन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेल पनि धनगढी उत्रिएका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेश परामर्श बैठकलाई सम्बोधनका लागि प्रचण्डसहितका नेता धनगढी उत्रिँदा सुरक्षा व्यवस्था मिलाउन चर्को परेको थियो । परराष्ट्रमन्त्री र प्रचण्ड एकसाथ धनगढी उत्रिँदा स्थानीय सुरक्षा अधिकारीलाई परिस्थिति र कार्यकर्ता सम्हाल्न मुस्किल परेको हो ।
प्रचण्ड दुई दिनसम्म हुने पार्टी बैठकमा भाग लिन पुगेका हुन्। त्यहाँ माओवादीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेश पदाधिकारी पनि जम्मा भएका छन् । प्रदेश परामर्श बैठक धनगढीमा सुरु भइसकेको छ। प्रचण्ड सवार जहाजमै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढी उत्रिँदा उनलाई स्वागतका लागि सयौँ कार्यकर्ता विमानस्थलमा थिए ।
धनगढी उत्रिएपछि अध्यक्ष प्रचण्डले आरजुसँग ‘हेल्लोहाई’ मात्रै भएको प्रतिक्रिया दिए । एकै जहाजमा आएकाले कुराकानी भए नभएकोबारेमा जिज्ञासा राख्दा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।