जोडिनुहोस
  • होमपेज
  • देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्टको हात छ ; अध्यक्ष यादव

देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्टको हात छ ; अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए । उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको दाबी गरे ।

उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ कि आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरू बाहिर गइरहेका छन्, कामको खोजीमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजीमा बाहिरिएका छन् ।’

उनले थप भने, ‘गाउँमा युवाहरू भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरू नै हुन् । नेपाली कांग्रेस र कम्युनिस्टहरू नै यसका जिम्मेवार हुन् । मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको हो ।’

अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टका धेरै नेताहरू भ्रष्टाचारमा जोडिएको आरोप लगाए । उनले कांग्रेस र कम्युनिस्ट शासनले भ्रष्टाचारलाई बढवा दिएको समेत बताए । भ्रष्टाचार नै कांग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको उनले बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका