जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपतीय बहसमा ह्यारिस र ट्रम्पद्वारा एकअर्काको आलोचना

अमेरिकी राष्ट्रपतीय बहसमा ह्यारिस र ट्रम्पद्वारा एकअर्काको आलोचना

आउने राष्ट्रपतीय चुनावका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिय बहसमा सहभागी हुनुभएको छ । ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’ नामको ९० मिनेटको टेलिभिजन कार्यक्रमका क्रममा भएको बहसमा उहाँहरू दुवैले एकअर्काको आलोचना गर्नुभएको छ ।

ह्यारिसले अमेरिकाको भविष्यका बारेमा आफू र ट्रम्पको पूर्ण भिन्न धारणा रहेको बताउनुभयो । ह्यारिसले आफ्नो ध्यान भविष्यमा रहेको दाबी गर्दै ट्रम्प भने विगतमा अड्किएको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै विगत चार वर्षमा केही हासिल गर्न नसकेको बताउनुभयो । उहाँले नोभेम्बरमा हुने राष्ट्रपति चुनाव ह्यारिसले जितेमा तेस्रो विश्वयुद्धको सम्भावना बढ्ने तर्कसमेत गर्नुभएको छ । तर ह्यारिसले आफू अर्थतन्त्र बलियो बनाउने योजनामा अडिक रहेको जवाफ दिनुभएको छ ।

बहसमा कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएर ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने व्यवस्था लागू गर्ने योजना बनाएकोले अर्को वर्ष मन्दी आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

बहसमा पूर्वराष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गर्दा उपराष्ट्रपति ह्यारिसले ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताउनुभयो ।

अमेरिकाको आर्थिक र हतियार सहयोगकै कारण युक्रेन स्वतन्त्र देशका रूपमा खडा हुन सकेको उहाँको दाबी छ । बहसमा आप्रवासन, रुस युक्रेन युद्ध, इजरायाल गाजा तनाव लगायतका विषयमा छलफल भएको छ ।

आउँदो नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनावका लागि यो दोस्रो बहस भए पनि उहाँहरूबीचको बहस भने पहिलो हो । यसअघि राष्ट्रपति जो बाइडेन र ट्रम्पबीच पहिलो बहस भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका