जोडिनुहोस
  • होमपेज
  • नेपाल-भारत विकास सहकार्य अन्तर्गत भक्तपुरमा विद्यालय भवन उद्घाटन

नेपाल-भारत विकास सहकार्य अन्तर्गत भक्तपुरमा विद्यालय भवन उद्घाटन

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।

एक करोड १३ लाख लागतमा निर्मित भवनको एक समारोहका बीच भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

 

काठमाडौ‌ंस्थित भारतीय दूतावासका अनुसार विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माणमा भारत सरकारले सहयोग गरेको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको दूतावासले जनाएको छ । यो परियोजना जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

उद्घाटन समारोहमा सहभागी अतिथिहरूले  प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् १९५२ मा प्राथमिक विद्यालयको रूपमा महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नति गरिएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५ % छात्राहरु रहेका छन् ।

महेन्द्र शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुने दूतावासले विश्वास लिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?