जोडिनुहोस
  • होमपेज
  • राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँ : अर्थमन्त्री पौडेल

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यालय प्रमुखहरू कोही पनि सुरक्षित नहुने बताए । उनले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशन दिए । उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रूपमा अलग हुनुपर्ने बताए । उनले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए ।

उनले भने, ‘ यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ । मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरू पनि सुरक्षित हुनुहुन्न । उपमहानिर्देशक सुरक्षित हुनुहुन्न । कार्यालयका प्रमुखहरू सुरक्षित हुनुहुन्न । कोही पनि सुरक्षित हुँदैन । म स्वयं सुरक्षित छैन । हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ । यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ ।’ अर्थमन्त्री पौडेलले करदातामैत्री व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए । आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा उनले जोड दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका