जोडिनुहोस
  • होमपेज
  • इजरायली सैन्य क्याम्पमा हेजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

इजरायली सैन्य क्याम्पमा हेजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

हेजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ। इजरायली सेनाले लेबनानमा हेजबुल्लाह विरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो हमला भएको हो।

उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ। हेजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ।

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार ड्रोन हमला साँझ ७ बजेभन्दा पहिले भएको थियो। इजरायली सञ्चारमाध्यमका अनुसार सैन्य बेसभित्र एउटा डाइनिङ हललाई निशाना बनाइएको थियो। हमलामा थप ७ जना सैनिक गम्भीर घाइते भएका र उनीहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ।

ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन नबज्नाले इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन्।

आईडीएफ प्रवक्ता ड्यानियल हगारीले राति अबेर घटनाको ड्रोन इजरायल प्रवेश गर्दा कुनै चेतावनी साइरन नबजेको बारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन्। हगारीले आक्रमणका बारेमा अफवाह नफैलाउन सर्वसाधारणलाई अपिल गर्दै तथ्य सङ्कलन भइरहेको बताएका छन्।

इजरायली सेनाका प्रवक्ताले इजरायलले युद्धको सुरुवातदेखि नै (मानवरहित हवाई यान) यूएभीको खतरा सामना गरिरहेको बताएका छन्। ‘हामीले राम्रो सुरक्षा दिनुपर्छ। हामी यस घटनाको छानबिन गर्नेछौँ, यसबाट पाठ सिक्नेछौँ र सुधार गर्नेछौँ,’ उनले भने।

टाइम्स अफ इजरायलले आईडीएफको प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै लेबनानबाट प्रक्षेपण गरिएका दुई ड्रोनहरू समुन्द्र मार्गबाट ​​इजरायली क्षेत्रमा प्रवेश गरेको बताएको छ। यी दुवै मिरसाद ड्रोन थिए, जसलाई इरानमा अबबिल-टी भनिन्छ। यो हेजबुल्लाहको आत्मघाती ड्रोन हो।

इजरायल प्रवेश गरेको दुई ड्रोनलाई इजरायली राडारले ट्रयाक गरेको थियो र एउटा हाइफाको उत्तरी तटमा खसालिएको थियो। इजरायली वायुसेनाका विमानहरू र हेलिकप्टरहरूले दोस्रो ड्रोनलाई पछ्याए पनि ती राडारबाट गायब भएका थिए।

सम्भवतः यो जमिनको धेरै नजिक उडेकाले इजरायली सेनाले पत्ता लगाउन नसकेको हो। राडारबाट हराएको ड्रोनबाट नै आक्रमण भएको अनुमान गरिएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका