जोडिनुहोस
  • होमपेज
  • अपहरणमा संलग्न रहेको आरोपमा प्रहरी र पूर्ववडाध्यक्ष पक्राउ

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरी र पूर्ववडाध्यक्ष पक्राउ

दाङ। दाङका दुई पुरुष अपहरण गरेको आरोपमा पूर्व वडाध्यक्ष र बहालवाला प्रहरीसहित पाँच जना पक्राउ परेका छन्।

दाङको बबई गाउँपालिका–६ का ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई बन्धक बनाएर प्यूठान पुर्‍याएको आरोपमा प्यूठान नगरपालिका–८ का पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ परेका हुन्।

पूर्ववडाध्यक्ष केसीसहित दिलबहादुर दरौँदी, सन्तोष दरौँदी, प्रितम गिरी र शरद गिरीलाई पनि पक्राउ गरी दाङ ल्याइएको छ। केसी अहिले नमस्ने यातायात प्रालिका अध्यक्ष र दिलबहादुर दसौँदी उक्त बस प्रालिको सचिव हुन्।

सन्तोष दसौँदी जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखामा काम गर्ने प्रहरी रहेको बुझिएको छ। बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार दसौँदी घर बिदामा प्यूठान गएका थिए।

बुढाथोकी र पोखरेललाई लमही नगरपालिका– ९ स्थित ‘क्राउन होटलमा बन्धक बनाएर राखेको र त्यहाँबाट प्यूठान पुर्‍याइएको एक प्रहरीले जानकारी दिए। उनीहरूलाई गएराति प्युठानको माण्डबी गाउँपालिकाको देवीस्थलबाट पक्राउ गरेर दाङ ल्याएको हो।

प्रहरी स्रोतका अनुसार प्यूठानबाट पूर्ववडाध्यक्ष केसीको नेतृत्वमा आएका पाँच जनाले लमहीको अमिलिया बजारबाट मोहन बुढाथोकी र माधव पोखरेललाई पक्राउ गरि प्यूठान लगेर बन्धक बनाएका थिए।

अनुसन्धानमा संलग्न एक प्रहरीले उनीहरूबीच लेनदेनलाई लिएर विवाद रहेको बुझिएको बताएका छन्। थप विवरण प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका